विराटनगर । विराटनगर महानगर वडा नम्वर १२ का श्याम साह ‘रड मिस्त्री’ हुन् । उनले विराटनगरका थुप्रै भवन खडा गर्न आफ्नो पसिना बगाएका छन् । आफ्नै घर भने फुसको छ ।
चार दशकदेखि रड बाँध्ने काम गर्दै गुजारा गरिरहेका उनको परिवारमा पाँचजना सदस्य छन् । परिवार सानो छँदा उनलाई जीविकोपार्जनमा उति समस्या थिएन । तर छोराछोरी हुर्किँदै जाँदा समस्या थपिएको उनको भनाइ छ ।कक्षा ५ सम्म सरकारी विद्यालयमा पढेका श्याम अहिलेका सरकारी विद्यालयका परिस्थिति हेरीकन आफूले झैँ छोरा–छोरीले दुःख भोग्नु नपरोस् भनेर तिनलाई बोर्डिङमा पढाउने गरेका छन् ।
‘सरकारी स्कुलमा पढाई कहाँ हुन्छ र, सरहरु एक त आफैँ ढिला आउँँछन्, अनि नेताहरुलाई कुनै सभा, भेला आयोजना गर्नु परे पहिले रोजाईनै सरकारी विद्यालय हुन्छ ।’उनले त्यही वडाको अरुणोदय माध्यामिक र वडा ११ स्थित जनपथ माविमा धेरैपटक त्यस्ता कार्यक्रम भएको देखेका छन् । जसले गर्दा पढाइ प्रभावित हुने गरेको छ ।
छोराछोरीको भविष्य सुनौलो पार्ने सपना बोकेका श्याम दिनरात खटिरहेका हुन्छन् । मासिक २० हजार रुपैयाँ कमाउने श्यामको खर्च छोराछोरी पढाउँदा, घर चलाउँदा ठिक्क हुने गरेको छ । बचत हुँदैन ।
छोराछोरीका लागि सकेजति कुरा जुटाइदिँदा आफ्नोबारे भने खासै केही गर्ने सोच्न पनि पाउँदैनन् । ‘मैले नयाँ लुगा नकिनेको ३ वर्ष भयो, नानीहरुका लागि कपडा, विद्यालयका पोशाक, नयाँ पुस्तक किन्नै धौ–धौ हुन्छ ।’
कहिलेकाहीँ परिवारका कोही बिरामी पर्दाको अवस्थामा उपचारका लागि खर्च गर्ने पैसाको अभाव उनले खेप्ने गरेका छन् ।
‘राम्रो जनप्रतिनिधि निर्वाचित भए हामी जस्ता गरिब मजदुरको अवस्था अवश्य बुझ्लान् भन्ने आशा छ’ उनले भने, ‘राम्रा व्यक्तिलाई भोट दिनुपर्छ जस्तो लाग्छ ।’
अघिल्लो चुनावमा जितेर गएका जनप्रतितिधिहरुले आफ्नो गाउँघरका केही समस्या समाधानका पहल गरे पनि पर्याप्त काम गर्न नसकेको बताए ।
टोलमा नाला निर्माण गरिएको भए पनि त्यो लामो समय टिक्न सकेन । कमसल सामान प्रयोग गरेर बनाइएकाले केही समयपछि नै भत्किएको उनले सुनाए । चुनावका बेला प्रतिबद्धता गरेजस्तो नेता र उम्मेदवारहरुले काम नगरेको देख्दा उनलाई दुःख लाग्छ ।
कमसे कम सरकारी विद्यालयहरुमा गुणस्तरीय पढाइको व्यवस्था गरे विपन्न समुदायका बालबालिकाले राम्रो शिक्षादीक्षा पाउने उनको भनाइ छ ।
‘नेताहरुले आफ्नो सन्तानका लागि मात्र होइन, आफ्नो क्षेत्रका सबैलाई समान हिसाबले हेर्नुपर्ने हो’ उनले भने, ‘तर त्यस्तो महान् सोच भएको नेता हामीले कहिले पाउने हो ?’
(प्रशिक्षार्थी)