२०२७ सालदेखि पार्टी राजनीतिमा सक्रिय गच्छदार २०४८ सालयता निरन्तर शक्तिमा रहँदै आएका थिए । पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा मुछिएर अदालतमा मुद्दा विचारधीन अवस्थामा रहनु र काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पराजित भएसँगै यसको असर निर्वाचनमा नपर्ला भन्न सकिँदैन ।
गच्छदारले संविधानसभा दोस्रो र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए । त्यसैले यसपटक पनि गच्छदारलाई पहिलेजस्तो सजिलो भने छैन ।गच्छदार आफ्नो ५० वर्षे राजनीतिक र सामाजिक छवि समाप्त पार्न षडयन्त्रपूर्वक एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दामा फसाएको आरोप लगाउँदै मतदातामाझ मत माग्न व्यस्त छन् ।
चौधरी २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार बनेकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा भने गच्छदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा हुँदा प्रतिस्पर्धा भएको थियो ।चौधरीका निम्ति पनि यसअघिका दुईपटक निर्वाचन लड्दा पार्टीका नेता–कार्यकर्ता जुन ढंगले संगठित थिए अहिले त्यस्तो छैन । यतिबेला आन्तरिक अन्तरद्वन्द्व छ । भगवतीले दुहबीमा वित्तीय संस्थामार्फत सामाजिक गतिविधि गर्दै आएकी छन् । सुनसरी क्षेत्र नम्बर ३ विकासमा निकै पछाडि रहेको भन्दै आफ्नो मुख्य एजेण्डा विकास निर्माणको कामलाई तीव्रता दिने भएको चौधरीको भनाइ छ ।
गच्छदार पहिले काँग्रेसमै छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा अहिलेको क्षेत्र नंम्बर ३ मा पर्ने भूभाग समेत समेटिएको क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नम्बर ३ बाटै, २०७० र २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए ।
संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा इटहरी र खनार क्षेत्रका वडा क्षेत्र नम्बर २ मा परेका थिए । क्षेत्र नम्बर ३ मा इटहरी उपमहानगरपालिकाका दशवटा वडासहित दुहबी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ ।
इनरुवाको वडा नम्बर ७ पनि क्षेत्र नम्बर ३ मै समेटिएको छ । गच्छदारका निम्ति यसपटक ललिता निवास जग्गा प्रकरणमा मुछिनु, एउटै व्यक्ति सात पटकसम्म चुनाबमा प्रतिस्पर्धा गर्नु जस्ता पक्षले असर गर्ने देखिन्छ । किनभने एमालेकी चौधरी र अर्का प्रतिस्पर्धीले यो विषयलाई पनि एजेण्डाका रुपमा उठाइरहेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ का अर्का प्रतिस्पर्धी हुन्, बहुल राष्ट्रिय समाजवादी पार्टी नेपालका किशोरकुमार विश्वास । गच्छदारले ६ पटकसम्म निर्वाचन जितेर पटक पटक मन्त्री बन्दासमेत विकासका काम गर्न नसकेको भन्दै मतदाता आफूतिर आकर्षित गर्ने प्रयास विश्वासको छ ।
गच्छदार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरीसँग प्रतिस्पर्धा गर्दा झिनो मतान्तरले विजयी बनेका थिए । विजयले ३८ हजार ९७२ मत ल्याएका थिए भने भगवतीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।
गच्छदारले २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नम्बर ३ बाटै २३ हजार सात सय ६९ मत ल्याएका थिए । २०७० सालको निर्वाचनमा ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा उनी १७ हजार पाँच सय २४ मत ल्याएर विजयी बनेका थिए । त्यतिबेला चौधरीलाई ३ सय ६२ मतले पछि पार्दै गच्छदार विजयी बनेका थिए ।
सुनसरी क्षेत्र नम्बर ३ मा यसपटक एक लाख २५ हजार ४३२ मतदाता छन् ।