पाँचथर । पाँचथरको फिदिममा तीनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ। फिदिम नगरपालिकाको आयोजनामा तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबारदेखि जिल्ला अस्पताल पाँचथरमा शिविर सञ्चालनमा आएको हो।
मंसिर ११ गते बिहानसम्म सञ्चालन हुने शिविरमा मेची आँखा अस्पतालका प्राविधिक टोलीले आँखासम्बन्धी समस्या पहिचान गर्नुका साथै आवश्यक उपचार सेवा प्रदान गर्नेछन्।नगरप्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्दम्बेले गरेका हुन्।
शिविरबाट फिदिम नगरपालिकासहित आसपासका क्षेत्रका सेवाग्राहीले समेत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिन सक्ने नगरप्रमुख काफ्लेले बताएका छन्।उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरले आँखासम्बन्धी समस्या भएका नागरिकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।