विराटनगर । लागूऔषध, मदिरा तथा अन्य प्रकारका दुर्व्यसनको समस्याबाट प्रभावित व्यक्तिहरूलाई उपचार, परामर्श तथा समाजमा पुनःस्थापित गराउने उद्देश्यले मोरङको विराटनगरस्थित परिवर्तन एकता समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विराटनगर–३, ज्योति मार्गमा रहेको संस्थाले दुर्व्यसनमा परेका व्यक्तिहरूलाई उपचार तथा परामर्श प्रदान गर्नुका साथै उनीहरूलाई परिवार र समाजमा सम्मानपूर्वक पुनःस्थापित गराउने लक्ष्यसहित काम गरिरहेको जनाएको छ।

समाजका सञ्चालक किरण निरुलाका अनुसार संस्थाले आवासीय उपचार तथा पुनःस्थापना, समूह बैठक तथा परामर्श, मानसिक स्वास्थ्य सहयोग, परिवार परामर्श, खेलकुद तथा मनोरञ्जन, सीपमूलक शिक्षा र पुनःस्थापनापछिको सामाजिक पुनःएकीकरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई सकारात्मक जीवनशैली अपनाउन, आत्मविश्वास बढाउन तथा सामाजिक र पारिवारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन भइरहेको संस्थाले जनाएको छ। उपचारसँगै मानसिक तथा सामाजिक सहयोगलाई पनि प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, लागूऔषध दुर्व्यसनबाट बच्ने उपाय, यसको जोखिम तथा जीवनमा सकारात्मक परिवर्तन ल्याउने विषयमा दैनिक सचेतनामूलक कक्षा सञ्चालन गर्ने व्यवस्था पनि संस्थाले गरेको छ।

‘उपचार सम्भव छ, प्रमाण हामी छौँ’

यही नारासहित परिवर्तन एकता समाजले दुर्व्यसन न्यूनीकरण तथा पुनःस्थापनासम्बन्धी गतिविधि अघि बढाउँदै दुर्व्यसनको समस्या भोगिरहेका व्यक्ति तथा उनीहरूका परिवारलाई परामर्श र आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

154
Shares
४ मंसिर २०८३, बिहीबार १६:२५