काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घमा हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्। सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवाले नव निर्वाचित पदाधिकारीलाई खादा ओढाएर औपचारिक रुपमा बधाई ज्ञापन गरेका हुन्।
नेपाल पर्वतारोहण सङ्घको भदौ ७ र ८ गते सम्पन्न महाधिवेशनबाट फुरगेल्जे शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा, कोषाध्यक्ष, सचिवसहित विभिन्न पदमा नयाँ कार्यसमिति चयन भएको थियो।
सभापति देउवाले नेपाल पर्वतारोहण सङ्घ नेपालको हिमाल, पर्वतारोहण र पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नयाँ नेतृत्वले यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखे। उनले पर्वतारोहण क्षेत्र नेपालकै आर्थिक विकास, पर्यटन प्रवर्द्धन र विश्वसामु देशको पहिचान स्थापित गर्ने माध्यम भएको भन्दै यस क्षेत्रको दिगो र व्यवस्थित विकासका लागि कांग्रेस पार्टी सदैव सहकार्य गर्न तयार रहने प्रतिवद्धता पनि जनाए।
देउवाले पर्वतारोहणसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न नेपाली पर्वतारोही, गाइड, सहायक कर्मचारी तथा स्थानीय समुदायको जीवनस्तर उकास्न पनि संघले भूमिका खेल्नुपर्नेमा जोड दिए।
यसैबीच, नव निर्वाचित अध्यक्ष फुरगेल्जे शेर्पाले नेपाली कांग्रेस सभापतिको शुभकामना र विश्वासले आफूलाई थप जिम्मेवारीबोध गराएको भन्दै आगामी कार्यकालमा पर्वतारोहण क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायसँग सहकार्य गर्दै नेपाललाई अझ आकर्षक पर्वतारोहण गन्तव्यका रुपमा स्थापित गर्ने योजनाबारे जानकारी गराए।
नेपाल पर्वतारोहण सङ्घ १९७३ सालमा स्थापना भएको संस्था हो, जसले पर्वतारोहण अनुमति, पर्वतारोहण गाइड प्रशिक्षण, हिमाल सरसफाइ, तथा पर्वतारोहण पर्यटनको प्रवर्द्धन जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।