काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ। सोमबार बिहान करिब १ बजे गरिएको अपरेसनमा सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक भेप नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मधुवन क्षेत्र हुँदै साइकलमार्फत भारततर्फ लैजाने तयारीमा रहेका भेप सशस्त्र प्रहरीले पक्राउ गरेको हो। बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले नियमित गस्तीका क्रममा शंका लागेपछि चेकजाँच गर्दा करिब आठ कार्टुनमा राखिएका १ हजार ९२० थान भेप बरामद गरिएको हो।

बरामद गरिएका भेपको अनुमानित मूल्य ४८ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। हालसम्म यस तस्करीमा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको सहप्रवक्ता थापाले जानकारी दिए।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भेप, मदिरा, लागूऔषध तथा दैनिक उपभोग्य वस्तुको तस्करी बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि कडा निगरानी बढाएको बताएको छ।

यसअघि पनि सशस्त्र प्रहरी बलले मधुवन, ठाडाबन्दी, धनौरी लगायतका सीमा नाकाबाट ठूलो परिमाणमा सामान बरामद गरेको थियो। तर, तस्करहरू फरार हुने घटना दोहोरिरहेकाले प्रहरीले सीमा क्षेत्रमा थप गस्ती र चेकजाँचलाई प्राथमिकता दिएको छ।

7
Shares
९ भाद्र २०८२, सोमबार १२:२२