काठमाडौं, भदौ ८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन्। सोमबार बिहान प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमा पुगेर भेटवार्ता गरेका हुन्।
चन्दको सचिवालयका अनुसार प्रचण्ड जब निवास पुगे, त्यतिबेला महासचिव चन्द स्वयंले उनलाई स्वागत गर्दै फूल प्रदान गरेका थिए। स्वागतपछि दुई नेताबीच करिब एक घण्टा लामो भेटवार्ता भएको बताइएको छ।
भेटमा विशेषगरी पार्टी एकताको सम्भावना र त्यसका लागि आवश्यक तयारीबारे छलफल भएको स्रोतले जनाएको छ। पछिल्लो समय बामपन्थी शक्तिहरूबीच एकता र सहकार्यको चर्चा बढिरहेका बेला यी दुई नेताको भेटलाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।
स्रोतका अनुसार छलफलमा हालको राजनीतिक गतिरोध, सत्ता संरचना, संविधान कार्यान्वयनका चुनौती, राष्ट्रिय स्वाधीनताको सवाल लगायतका एजेण्डा पनि उठेका थिए। नेपालमा निरन्तर राजनीतिक अस्थिरता र दलहरूको असमर्थताले जनतामा निराशा बढेको भन्दै यसलाई अन्त्य गर्ने उपाय खोज्ने विषयमा समेत दुई नेताबीच विचार विमर्श भएको जनाइएको छ।
नेता निकट वृत्तले दुवै नेताले अबको राजनीतिक यात्रामा वामपन्थीहरूको साझा कदम आवश्यक रहेको निष्कर्ष निकालेका बताए। तर, औपचारिक रूपमा कुनै ठोस सहमति भएको छैन। आगामी दिनमा नियमित छलफल र संवादलाई निरन्तरता दिने दुवै नेताले प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्ड–विप्लव भेटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरंग ल्याउन सक्छ। यद्यपि, यसअघि पनि वाम एकताको चर्चा भए पनि व्यवहारमै सफल हुन नसकेको भन्दै यसपटक कस्तो परिणाम आउने भन्नेमा अझै अनिश्चितता कायम छ।
यसअघि पनि प्रचण्डले बाम शक्तिहरूलाई एउटै मोर्चामा ल्याउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। उता, विप्लवले समेत ‘वामपन्थी पुनः एकताको आवश्यकता’ औंल्याउँदै आएका छन्। यही पृष्ठभूमिमा भएको भेटलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ नियालिरहेको छ।