३५ वर्ष सरकारी सेवापश्चात निवृत्त भएका मित्रलाल त्रिपाठी पोखरा–२५ हेमजामा व्यावसायिक ड्रागन खेतीमा लागेका छन्। बाँझो पाखोमा सुरु गरिएको फुर्केटारी एग्रो फर्म मा ९० भन्दा बढी प्रजातिका करिब २ हजार बिरुवाले उत्पादन दिन थालेका छन्। पहिलो वर्षमै दुई लाखभन्दा बढीको फल बिक्री भएको छ भने प्रतिकेजी ५०० मा बजार पठाइएका छन्।
फर्ममा हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ र कृषि ज्ञान केन्द्र कास्कीबाट प्राविधिक तथा आर्थिक सहयोगसमेत प्राप्त भएको छ। एक फल ४०० ग्रामदेखि एक किलोभन्दा बढीको हुने र बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी भइरहेको छ। खेतीले स्थानीयलाई रोजगारी दिँदै हेमजा क्षेत्रमा ड्रागन उत्पादनको नयाँ सम्भावना बढाएको छ।