जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दरबार हत्या काण्ड र दासढुङ्गा काण्डजस्ता घटना अझै रहस्यमय रहेको बताउँदै जनताले सत्य जान्नुपर्ने बताएका छन् । उनले अनुमानका आधारमा कसैलाई दोषारोपण गर्नु गलत हुने उल्लेख गर्दै १८ वर्षअघिको गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।
यादवका अनुसार गौर घटनाबारे ओएचसिआर, मानवअधिकार आयोग र न्यायिक छानबिन आयोगलगायत विभिन्न निकायले अनुसन्धान गरिसकेका छन् । २०६३ चैत ७ गते रौतहटको गौरमा भएको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । सर्वोच्च अदालतले हालै उक्त घटनाको छानबिन अघि बढाउन आदेश दिएको छ ।