नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रकै सम्भावनाको सृजनात्मक ढंगले सदुपयोग गर्न सके नेपाल चाँडै आत्मनिर्भर बन्न सक्ने दाबी गरेका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहबाटै सिर्जनात्मक प्रयासमार्फत रोजगारी सृजना गर्न सकिने र त्यसले वैदेशिक रोजगारीको निर्भरता घटाउन मद्दत गर्ने बताए।

‘देशभित्रै सम्भावना छ। हाम्रो इतिहास, संस्कृति, जाति, भाषा र समग्र देश विकासप्रति गर्व गर्ने मानसिकताको विकास आजको आवश्यकता हो,’ उनले भने, ‘त्यसकारण सकारात्मक सोच राख्दै रचनात्मक काममा लाग्नुपर्छ, जसले वैदेशिक रोजगारप्रति आकर्षण कम गर्न सक्छ।’

उनले नेपालको गौरवपूर्ण इतिहास र समृद्ध सांस्कृतिक धरोहरका आधारमा मौलिक विकासको मोडल तयार पारेर मात्र देशलाई आत्मनिर्भर बनाइ समृद्धितर्फ लैजान सकिने बताए।

‘स्थानीय स्तरबाट सृजनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्‍यौं भने देश आत्मनिर्भर हुन समय लाग्दैन,’ अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्यवश हामीकहाँ राष्ट्रिय अर्थतन्त्रको मोडल विकास गर्नुको सट्टा विदेशको नक्कल गर्ने प्रवृत्ति हावी छ।’

उनले नेपाली भाषा, संस्कृति र स्वाभिमानप्रति गर्व गर्न सक्ने पुस्ताको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सबै तहबाट यस्ता प्रयासलाई प्रोत्साहित गर्न पनि आग्रह गरे।

7
Shares
३० श्रावण २०८२, शुक्रबार ०९:५७