काठमाडौं । धरौटीमा रिहा भएपछि व्यवसायी दुर्गा प्रसाईंले आफूलाई साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उच्च अदालतको आदेशले कारागारमुक्त भएपछि प्रसाईंले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै न्यायप्रणालीप्रति कृतज्ञता व्यक्त गरेका हुन्।

उनले कारागार चलान हुँदा पनि आफूले अदालतको आदेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको स्मरण गरे। “आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनि देश निर्माणको भावी योजनाका साथ म घर फर्किँदै छु,” उनले लेखेका छन्।

प्रसाईंले न्याय मरेको छैन भन्ने आभाष दिलाउने उच्च अदालतका सम्पूर्ण न्यायाधीश र अदालत परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले कारागारमा बिताएको समयबारे पनि उल्लेख गर्दै भनेका छन्, “मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन।”

कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी र कारागारमा रहेका सबै साथीहरूलाई पनि उनले धन्यवाद दिएका छन्। भविष्यमा देश र जनताको लागि काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले लेखेका छन्, “म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु।”

उनले आफ्नो तरिका र शैली बदलिए पनि नागरिक र देशका लागि मन, वचन र कर्मले लाग्ने स्वभाव कहिल्यै परिवर्तन नहुने बताएका छन्। अन्तमा, उनले सबैलाई पुनः हृदयको अन्तस्करणबाट आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।
28
Shares
२० श्रावण २०८२, मंगलवार ०६:०६