प्रतिनिधि सभामा नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको चर्चाबारे गम्भीर प्रश्न उठाउँदै कानूनमन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन्। उनले बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा अस्वीकृत र कानुनी रूपमा गैरकानूनी भएको बताउँदै यस्तो संवेदनशील विषयमा कानून निर्माण गर्दा संसदमा स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याइन्।
सोही बैठकमा नेपाली काँग्रेसले विपक्षी दलहरूले भिजिट भिसाको नाममा संसदको दुरुपयोग गर्दै आएको भन्दै आपत्ति जनाएको छ। कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले शून्य समयमा बोल्दै संसदको गरिमा खल्बलिने गरी लामो समयदेखि गलत अभ्यास हुँदै आएको आरोप लगाए। उनले यस्तो गतिविधि तत्काल अन्त्य गर्न सभामुखको ध्यानाकर्षण समेत गराए।
भिजिट भिसा प्रकरणमा सरकार गम्भीर नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। छानबिन समिति नबनेसम्म अडान कायमै राख्ने घोषणा गर्दै सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए। रास्वपाका असिम साह र राप्रपाका ध्रुवबहादुर प्रधानले सरकारमाथि दमनकारी व्यवहारको आरोप लगाउँदै आफूहरूलाई व्यवस्था विरोधी भनेर गलत रूपमा प्रस्तुत गरिएको बताए।