लामो समयसम्म वर्षा नहुँदा चिन्तित बनेका सुनसरीका किसान अहिले खुसी देखिएका छन्। शनिबारदेखि परेको पानीले इनरुवा, कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायत स्थानका किसानलाई धान रोपाइँ गर्न सहज भएको छ। किसान सुरेन्द्र उराँवका अनुसार अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई यो वर्षाले ठूलो राहत दिएको छ। पानी पर्न थालेपछि पहिले रोप्न नपाएका किसान अहिले खेतमा जुटिरहेका छन् भन्ने स्थानीय किसान बबलु खड्गाले बताएका छन्।

पानी नपरेर सुक्न थालेका रोपो र बीउ जोगिनुका साथै अझै रोपाइँ गर्न बाँकी रहेका किसानहरू पनि अब सक्रिय भएका छन्। भूमिगत सिचाइँबाट केहीले रोपाइँ गरे पनि पानीको अभावले मल हाल्न समेत गाह्रो भइरहेको थियो। तर, कृषि ज्ञान केन्द्र इनरुवा, सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार अब बाँकी रहेका क्षेत्रमा पनि रोपाइँ सुरु भएको छ। नहर र मोटरबाट पानी पुग्ने ठाउँहरूमा रोपाइँ चलिरहेको छ भने आकाशे पानीले अन्य ठाउँमा पनि राहत दिएको छ। इनरुवा र भोक्राहाको सीमासहित बूढी खोला, सुनसरी खोला, सप्तकोशी नदी, मरिया खोला, गडनलगायतका खोला र नालामा जलसतह बढेको स्थानीयवासीले जनाएका छन्।

7
Shares
१९ श्रावण २०८२, सोमबार १२:५२