विराटनगर, शनिबार — नेपाल तरुण दल विराटनगर महानगरको आयोजनामा शनिबार विराटनगरको हिमालय रोडमा आयोजित रक्तदान कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। अल्प तयारीमा आयोजना गरिए पनि कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागीता देखिएको थियो। आयोजकका अनुसार कुल ७८ पिन्ट रगत संकलन गरिएको छ।
कोशी प्रदेश सभा सदस्य अमृत अर्याल प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए। उनले युवाहरूको सक्रियता र सामाजिक योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। “युवाहरूको सक्रियता आशालाग्दो छ। समाजका हरेक क्षेत्रमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाउँदै लैजानु आवश्यक छ,” अर्यालले बताए।