काठमाडौंको ठमेलमा भएको झगडापछि प्रहरीले ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई पक्राउ गरेको छ। सानुभाइ भनेर चिनिने युवराज गुरूङको समूहसँग झगडा भएको आरोपमा उनलाई शनिबार म्हेपीबाट पक्राउ गरिएको हो। हाल उनलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको छ।
साउन १४ गते राति नगरकोट दोहोरी साँझमा दुई समूहबीच झडप भएको थियो। प्रहरी पुगेपछि तीन जनालाई नियन्त्रणमा लिइएको थियो, जसमा युवराज गुरूङ, रविन्द्र गुरूङ र दिलकुमार गुरूङ परेका थिए। युवराज गुरूङलाई पहिले पनि गुण्डागर्दीको आरोपमा पटक–पटक पक्राउ गरिसकिएको छ।
प्रहरी स्रोतका अनुसार उनीहरूबीच पुरानै रिसइबी थियो। असार १५ मा युवराजले क्लबमै सञ्चालक राजेन्द्र गुरूङमाथि कुटपिट गरेका थिए। त्यसबेला युवराजलाई पक्राउ गरिए पनि पछि धरौटीमा रिहा गरिएको थियो। त्यसै विवादका कारण अहिले पुनः झडप भएको खुलेको छ र दुवै पक्षमाथि अनुसन्धान अघि बढाइएको छ।