विराटनगर । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो खसीको चिन्ह नभएको (बाख्री) को मासु बरामद गरी नष्ट गरिएको शाखा संयोजक यादवले जानकारी दिए ।

त्यस्तै विराटनगर–९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर–११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

उनीहरुको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले जानकारी दिए । अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

77
Shares
१५ श्रावण २०८२, बिहीबार १७:५९