काठमाडौँ । नेपाल र भारतबीच सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधि अपनाइने भएको छ। मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठकले सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि प्रयोग गर्ने सहमति जनाएको हो।

बैठकका मुख्य निर्णयहरू

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए।

बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयन र सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा आयोजित नापी विभागका अधिकारी सम्मिलित बैठकको कार्य प्रगतिको समीक्षा गरेको थियो।

बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ। दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेका छन्। त्यसैगरी, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाइएको छ।

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो।

42
Shares
१४ श्रावण २०८२, बुधबार ०८:१३