काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ। राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुने यस एक्स्पोमा नयाँ प्रविधि र मोडेलका विद्युतीय सवारीसाधन (ईभी) सहित नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिनेछन्।

एक्स्पोका मुख्य आकर्षणहरू

अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडी सार्वजनिक हुने बताए। एक्स्पोले प्रविधिमैत्री र दिगो यातायात प्रणाली विकासमा जोड दिनेछ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले सञ्चालन गरेको कार्यक्रममा अटो एक्स्पो समिति सदस्य गौरव शारडाले एक्स्पोको विशेषता, लक्ष्य र दृष्टिकोणबारे जानकारी दिए।

मुख्य प्रायोजक र पार्टनरहरू

एक्स्पोका मुख्य प्रायोजकहरू एभरेस्ट बैंक र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड हुन्। एभरेस्ट बैंकका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणाली विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

अन्य पार्टनरहरूमा: टिकेटिङ पार्टनर: खल्ती बाई आईएमई | बेभरेज पार्टनर: माउन्टेन ड्यु | बृृविङ पार्टनर: हिमालयन जाभा | राइड पार्टनर: पठाओ | सर्भिलेन्स पार्टनर: एचआईके भिजन | कनेक्टिभिटी पार्टनर: वर्ल्डलिंक

हस्पिटालिटी पार्टनर: सोल्टी होटल | मेडिकल पार्टनर: फ्रन्टलाइन हस्पिटल | टेलिकम पार्टनर: एन्सेल

म्यानेजमेन्ट पार्टनर: मिडिया स्पेस सोलुसन | आगन्तुकका लागि विशेष व्यवस्था र प्रतियोगिता

प्रायोजक कम्पनीहरूले एक्स्पोका आगन्तुकका लागि विशेष व्यवस्था गरेका छन्। राइड पार्टनर पठाओले प्रदर्शनी लक्षित गरी भृकुटीमण्डप गन्तव्य भएका राइडमा ३० प्रतिशतसम्म छुट दिनेछ। मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्नेछ।

नाइमाले एक्स्पो लक्षित गरी अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ। साउन २१ गतेसम्म नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, साउन २१ देखि २५ गतेसम्म अपलोड भएका १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्यानल डिस्कसन र छात्रवृत्ति

नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन्।

एक्स्पोको पाँचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा प्यानल डिस्कसन आयोजना गरिनेछ। प्रदर्शनीको पहिलो दिन अनिलकेशरी शाहले दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्द्धक सत्र सञ्चालन गर्नेछन्। अन्य दिनका सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका दक्ष तथा विज्ञ व्यक्तित्वको उपस्थिति रहनेछ।

एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी हुनेछन्। एक्स्पोको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ। एक्स्पोमा बिक्री भएका टिकटको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सहकार्यमा विद्यार्थीलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिप प्रदान गरिनेछ।

14
Shares
१४ श्रावण २०८२, बुधबार ०८:०५