ट्राफिक सचेतना र प्रविधिको प्रयोग
कोशी प्रदेशमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहतका ९६ वटा ट्राफिक प्रहरी इकाईहरूले दैनिक ट्राफिक व्यवस्थापकीय कार्य सम्पादन गरिरहेका छन्। ट्राफिक प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ६ लाख १६ हजारभन्दा बढी सवारी चालक, सडक प्रयोगकर्ता र विद्यार्थीहरू लाभान्वित भएका छन्।सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशका मुख्य तथा सहायक मार्गहरूमा ९३२ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर (ANPR) सहितको सीसी क्यामेरा पनि जडान गरिएको छ। लामो दूरीका सवारी साधन र भारतीय नम्बर प्लेटका सवारीको जाँचका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप प्रयोग गरिएको छ भने सार्वजनिक सवारी साधनको गति नियन्त्रणका लागि २१ स्थानमा टाइम कार्ड इन्ट्रीको व्यवस्था गरिएको छ। ट्राफिक जरिवानालाई पारदर्शी बनाउन TVRS र E-challan लागू गरिएको छ।
लागू पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटना कम गर्न कडाइका साथ लापसे र मापसे जाँच गरिँदैछ। तीव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणका लागि राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाइएको छ। दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकल रूपमा चेकजाँच भइरहेको छ।दुर्घटनाका कारण र मानवीय क्षति
हेर्दा सामान्य लाग्ने तर लापरबाहीका कारण हुने दुर्घटनाले ठूलो जनधनको क्षति पुर्याउँछ। तीव्र गतिमा सवारी चलाउनु, मोबाइल फोनको प्रयोग गर्नु, सिट क्षमताभन्दा बढी यात्रु राख्नु, भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलगाउनु, मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठीक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र नलिई चलाउनु र सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नुजस्ता लापरबाहीहरू नै दुर्घटनाका मुख्य कारण हुन्।
आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कअनुसार कोशी प्रदेशमा सवारी दुर्घटनामा चालकको लापरबाही नै मुख्य कारण रहेको पाइएको छ। यस अवधिमा ४१८ जनाको ज्यान गएको छ भने ७११ जना गम्भीर र ८ हजार ५३० जना सामान्य घाइते भएका छन्।
सामूहिक जिम्मेवारीको आवश्यकता
ट्राफिक नियम आफ्नै सुरक्षाका लागि हो भन्ने कुरामा ट्राफिक प्रहरीले जोड दिएको छ। ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता र यात्रु सबै सुरक्षित हुन्छन्। ट्राफिक प्रहरी सडकमा सधैँ सुरक्षाका लागि खटिरहेको छ र निरन्तर चालक, सह-चालक, सडक प्रयोगकर्ता, विद्यार्थी, अभिभावक लगायत सबैलाई ट्राफिक नियमबारे प्रशिक्षण प्रदान गरिरहेको छ।
यसरी जानकार हुँदाहुँदै पनि लापरबाहीपूर्वक सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरी १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व संकलन गरेको छ।
ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको एक्लो प्रयास अपर्याप्त हुन्छ। सवारी चालक तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना अवश्य घट्नेछ। ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग लगायत सबै सरोकारवालाले आ-आफ्नो जिम्मेवारी निर्वाह गरेमा सवारी दुर्घटनामा निश्चित रूपमा कमी आउनेछ।