विराटनगर । अपराध गरेर कसैले पनि उन्मुक्ति पाउँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउँदै कोशी प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ। कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित यो विशेष अभियानमार्फत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा ३ हजार ५ सय १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसँगको समन्वय तथा सहकार्यमार्फत यो अभियानमा उल्लेखनीय सफलता हासिल गरेको हो। अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहेका अभियुक्तहरूलाई कानूनी दायरामा ल्याई न्यायलाई साकार बनाउन यो अभियानलाई प्राथमिकता दिइएको छ।

प्रहरीका अनुसार, अदालतबाट कैद तथा जरिवाना तोकिएका व्यक्तिहरू समाजमा रहँदा शान्ति सुरक्षामा चुनौती आउने, समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोबल बढेर थप अपराध गर्न उत्तेजित हुने भएकाले फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर सक्रियता देखाइएको छ।

पक्राउको विवरण:

यस आर्थिक वर्षको असार मसान्तसम्ममा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूले पक्राउ गरेका फरार प्रतिवादीहरूको संख्या निम्नानुसार छ:
  • मोरङ: १,१५६ जना
  • सुनसरी: १,००२ जना
  • झापा: ५३४ जना
  • इलाम: १४६ जना
  • उदयपुर: २६० जना
  • ओखलढुंगा: ६९ जना
  • खोटाङ: ५३ जना
  • पाँचथर: ४२ जना
  • ताप्लेजुङ: ४८ जना
  • धनकुटा: ५७ जना
  • तेह्रथुम: ४५ जना
  • भोजपुर: ४४ जना
  • संखुवासभा: २८ जना
  • सोलुखुम्बु: १४ जना
  • प्रादेशिक अनुसन्धान समूह: १५ जना

कुल ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट जम्मा १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद सजाय र जरिवानाबापत १४ करोड ७७ लाखभन्दा बढी राजश्व संकलन भएको छ।

कोशी प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य रहेको भन्दै गाउँ, घर, छिमेकमा लुकीछिपी बस्दै आएका फरार व्यक्तिहरूको बारेमा नजिकको प्रहरीलाई सूचना उपलब्ध गराई सहयोग गर्न सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध गरेको छ। प्रहरीलाई सूचना उपलब्ध गराउने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने विश्वास समेत दिलाइएको छ। प्रहरीले “तपाईंहरू प्रहरीलाई सूचना दिनुहोस्, प्रहरी तपाईंहरूलाई सुरक्षा दिन्छ” भन्ने नाराका साथ सहयोगको अपिल गरेको छ।

105
Shares
१० श्रावण २०८२, शनिबार ०७:३१