उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नवनिर्वाचित कार्यसमितिको स्वागत गर्दै वर्तमान समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि व्यवसायिक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।
भेटघाटमा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढेमा यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे। उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने बताउँदै उद्योग व्यवसाय क्षेत्रका मुद्दाहरुमा संस्थागत ऐक्यबद्धतामा जोड दिए।सुनसरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले निजी क्षेत्रको सबलीकरणका लागि राज्य समक्ष सामूहिक रुपमा पहल गरी व्यवसायिक विकासको पक्षमा सकारात्मक वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा उद्योग संगठन मोरङ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र महिला उद्यम समितिका सदस्यहरुको सहभागिता रहेको थियो।