काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।कोशी प्रदेशको पहाडी र तराई भूभाग लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागहरूमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएकोले दिउँसोको समयमा गर्मी बढ्नेछ ।