विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन र ओसारपसार नियन्त्रणमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। प्रहरीले २६ हजार ७०५ किलोग्राम भन्दा बढी गाँजा बरामद गरेको छ भने १७ लाख ७२ हजार भन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरेको छ।

प्रहरीले चेकजाँचमा कडाइ गरेकै कारण एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेटका सवारी साधन, तरकारी बोक्ने गाडी र मोटरसाइकल जस्ता विभिन्न सवारी साधनमा लुकाएर तथा कोशी नदीमा बगाएर वा जमिनमुनि गाडेर गरिने गाँजाको ओसारपसार र कारोबारलाई विशेष सूचना तथा अनुसन्धानका आधारमा सफल रुपमा नियन्त्रण गरेको छ।

यस आर्थिक वर्षमा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूबाट २६,७०५ किलो ५३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरिएको छ। जसमध्ये सुनसरीले १२,३७५ किलो ९२९ ग्राम, मोरङले ६,६५० किलो ४०० ग्राम, धनकुटाले ४,१९४ किलो ३०० ग्राम, उदयपुरले १,८१० किलो ४८४ ग्राम र झापाले १,६५१ किलो २८२ ग्राम गाँजा बरामद गरेका छन्।

गाँजा बेचबिखन तथा ओसारपसारमा संलग्न १६५ जना पुरुष र २४ जना महिलालाई पक्राउ गरिएको छ। ओसारपसारमा प्रयोग भएका ३१ वटा चारपाङ्ग्रे सवारी साधन र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, २,४६४ रोपनी क्षेत्रफलमा फैलिएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाका बोट तथा बेर्नाहरू नष्ट गरिएको छ। यस कार्यमा धनकुटाले १२ लाख ५९ हजार बोट, भोजपुरले २८ लाख ४६ हजार बोट, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट, सोलुले २९ हजार ७ सय बोट र खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना नष्ट गर्न सफल भएका छन्।

कोशी प्रदेश प्रहरीले लागूऔषध गाँजाको ओसारपसार, बेचबिखन तथा गाँजाका बोट र बेर्ना नष्ट गर्ने कार्यमा सहयोग गर्न र त्यस्ता गतिविधिहरू भए गरेको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोलको नम्बर १०० मा फोन गरी सूचना प्रदान गर्न सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध गरेको छ।

35
Shares
९ श्रावण २०८२, शुक्रबार ०७:३३