विराटनगर। कोशी प्रदेश प्रहरीले लागुऔषध नियन्त्रणका लागि सशक्त अभियान चलाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीले लागुऔषधसहित १,९८५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लागुऔषधको ओसारपसार, भण्डारण र कारोबारमा संलग्न व्यक्तिहरू रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार, यस अवधिमा चरेश, अफिम, ब्राउन सुगर (खैरो हेरोइन) र विभिन्न प्रकारका लागुऔषध ठूलो मात्रामा बरामद भएका छन्।

लागुऔषधले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने तथा अपराध बढाउने निष्कर्षसहित प्रहरीले यो अभियान तीव्र पारेको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए। उनले लागुऔषधको प्रयोग, ओसारपसार र बेचबिखन कानुनी अपराध हो भन्ने सन्देशसहित नीतिगत, भौतिक र मनोवैज्ञानिक स्तरमा एकीकृत रणनीति अपनाइएको जानकारी दिए।

डीआईजी कार्कीका अनुसार, प्रहरीले “फाइट अगेन्स्ट नार्कोटिक्स (FAN)” कार्यक्रम चलाएको छ। साथै, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला संस्थाहरूसँग मिलेर चेतनामूलक कार्यक्रम र सञ्चारमाध्यमबाट सचेतना अभियान पनि चलाइएको छ। यसको मुख्य उद्देश्य लागुऔषधको कुलतमा फसेका युवाहरूलाई पुनर्स्थापना गराउनु र समुदायमा चेतना फैलाउनु हो।

लागुऔषधको सञ्जाल तोड्न प्रहरीले राजमार्ग, भित्री सडक, सीमावर्ती नाका र शंकास्पद व्यक्तिमाथि कडा निगरानी तथा चेकजाँच गरिरहेको छ। यस क्रममा लागुऔषध लुकाएर ल्याउने धेरै प्रयासहरू असफल भएका छन्।

आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। जसमा ५ किलो ४ सय ८९ ग्राम ब्राउन सुगर र ६ लाख १५ हजार ७९ ट्याब्लेट चक्की र क्याप्सुल लगायतका लागूऔषधहरू छन्। यसरी पक्राउ पर्नेमा १,८८८ पुरुष र ९७ महिला रहेका छन्।

प्रहरीले यो अभियानमा आमनागरिक, सञ्चारकर्मी, शिक्षण संस्था, अभिभावक र युवाहरूको साथ र सहयोग पाएको जनाएको छ। लागुऔषधबारे कुनै सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

77
Shares
८ श्रावण २०८२, बिहीबार १६:३६