भारतीय इन्स्टाग्राम सेन्सेसन ‘बेबी डल अर्ची’लाई आफ्नो फलोअर्स दोब्बर गरेर १४ लाख पुर्‍याउन केही दिन मात्र लागेको थियो। यसको पछाडि केही भाइरल सामाजिक सञ्जाल पोस्टहरू थिए। एउटा भिडियोमा उनी रातो सारीमा रोमानियाली गीत ‘डामे उन गर्र’ मा आकर्षक ढंगले नाचिरहेकी थिइन्। अर्को पोस्टमा उनले अमेरिकी एडल्ट फिल्म स्टार केन्ड्रा लस्टसँग पोज दिएको फोटो थियो।

अचानक सबैजना उनीबारे जान्न चाहन्थे—‘बेबी डल अर्ची’ नाम गुगल सर्चमा ट्रेन्डिङमा आयो र यसले अनगिन्ती मिम्स र फ्यान पेजहरू जन्मायो। तर कसैलाई थाहा थिएन, यो अनलाइन सेन्सेसनको पछाडि कुनै वास्तविक महिला थिइनन्। इन्स्टाग्राम खाता नक्कली थियो, यद्यपि यसले प्रयोग गरेको अनुहार वास्तविक महिलाको अनुहारसँग अचम्मलाग्दो रूपमा मिल्दोजुल्दो थियो—उनी असमको डिब्रुगढ सहरमा बस्ने एक गृहिणी थिइन्, जसलाई हामीले ‘साँची’ भनेर चिनाएका छौँ।

यो सत्य तब बाहिर आयो जब साँचीका भाइले प्रहरीमा उजुरी दिए। त्यसपछि, साँचीका पूर्वप्रेमी प्रतिम बोरालाई पक्राउ गरियो। अनुसन्धानको नेतृत्व गरिरहेकी वरिष्ठ प्रहरी अधिकारी सिजल अग्रवालका अनुसार साँची र बोराबिचको सम्बन्धमा खटपट भएपछि उनले साँचीसँग ‘शुद्ध बदला’ लिनका लागि उनको अनुहार प्रयोग गरेर एआईबाट ‘बेबी डल अर्ची’ बनाएका थिए।

अग्रवालका अनुसार, मेकानिकल इन्जिनियर र एआईबारे रुचि रहेका बोराले साँचीका व्यक्तिगत तस्बिरहरू प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए। बोरा अहिले हिरासतमा छन् र उनले कुनै बयान दिएका छैनन्।

‘बेबी डल अर्ची’ २०२० मा बनाइएको थियो र पहिलो पोस्ट मे २०२१ मा अपलोड गरिएको थियो। अग्रवालका अनुसार, सुरुवाती तस्बिरहरू साँचीका वास्तविक तस्बिरहरू थिए, जसलाई मोर्फ (विकृत) गरिएको थियो। समय बित्दै जाँदा, बोराले च्याटजीपीटी (ChatGPT) र डिजाइन (Dzine) जस्ता उपकरणहरू प्रयोग गरी एआई संस्करण तयार गरे। त्यसपछि उनले त्यो ह्यान्डलमा डीपफेक तस्बिर र भिडियोहरू अपलोड गर्न थाले।

खाताले गत वर्षदेखि नै लाइक पाउन थालेको थियो, तर यसले यो वर्षको अप्रिलदेखि मात्र चर्चा पाउन थालेको हो। साँची सामाजिक सञ्जालमा सक्रिय छैनन् र उनले यो खाताका बारेमा तब मात्र थाहा पाइन् जब मूलधारका सञ्चारमाध्यमले ‘बेबी डल अर्ची’ लाई ‘इन्फ्लुएन्सर’ भन्दै प्रोफाइल गर्न थाले। रिपोर्टहरूले उनले अमेरिकी पोर्न उद्योगमा सामेल हुन सक्ने अड्कलबाजी पनि गरेका थिए, जुन असमको उत्तर-पूर्वी राज्यबाट आएको व्यक्तिका लागि पहिलो हुन्थ्यो।

साँचीको परिवारले जुलाई ११ को राति प्रहरीलाई बुझाएको दुई अनुच्छेदको छोटो उजुरीमा केही तस्बिर र भिडियोका प्रिन्टआउट प्रमाणका रूपमा संलग्न थिए। अग्रवालका अनुसार, उनीहरूलाई यसको पछाडि को छ भन्ने कुनै जानकारी नभएकाले उजुरीमा कसैको नाम उल्लेख गरिएको थिएन।

‘बेबी डल अर्ची’ प्रहरीका लागि अपरिचित नाम थिएन। प्रहरी अधिकारी अग्रवालले उनीहरूले सञ्चारमाध्यमका रिपोर्ट र टिप्पणीहरू पनि हेरेको बताइन्, जसमा त्यो खाता एआईबाट सिर्जना गरिएको अनुमान गरिएको थियो, तर त्यो कुनै वास्तविक व्यक्तिमा आधारित भएको कुनै संकेत थिएन।

उजुरी प्राप्त भएपछि, प्रहरीले इन्स्टाग्रामलाई खाता सिर्जनाकर्ताको विवरण माग्दै पत्र लेख्यो। ‘हामीले इन्स्टाग्रामबाट जानकारी प्राप्त गरेपछि, हामीले साँचीलाई प्रतित बोरा नाम गरेको कसैलाई चिन्छौँ कि भनेर सोध्यौँ। उनले पुष्टि गरेपछि, हामीले तिनको ठेगाना नजिकैको तिनसुकिया जिल्लामा पत्ता लगायौँ। हामीले उनलाई जुलाई १२ को साँझ पक्राउ गर्‍यौँ,’ अग्रवालले भनिन् ।

98
Shares
८ श्रावण २०८२, बिहीबार ०८:१२