विराटनगर । मोरङका उद्योग तथा व्यवसायहरूले खपत गर्ने ऊर्जा, त्यसबाट सिर्जना हुने समस्या र परिवर्तनहरूसम्बन्धी ऊर्जा सर्वेक्षणको पूर्ण प्रतिवेदनमाथि उद्योग संगठन मोरङमा गहन अन्तरक्रिया सम्पन्न भएको छ। यो सर्वेक्षणले यस क्षेत्रका उद्योगहरूको ऊर्जा आवश्यकता र चुनौतीहरूलाई उजागर गरेको छ।

इन्टर डिसिप्लिनरी एनालिस्ट (IDA) ले गत वर्ष असोजमा देशभर र विशेषगरी उद्योग संगठन मोरङको समन्वयमा सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग व्यवसायहरूमा ऊर्जासम्बन्धी सर्वेक्षण गरेको थियो। यस सर्वेक्षणमा ट्रिपिङ, कम भोल्टेज, फ्रिक्वेन्सीको उतारचढाव (fluctuation) लगायत ऊर्जासँग सम्बन्धित विभिन्न विषयहरू समेटिएका थिए।

अन्तरक्रिया कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले सर्वेक्षणबाट प्राप्त तथ्यांकले आगामी दिनमा ऊर्जासँग सम्बन्धित बहस र पैरवीमा संगठनलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले प्राप्त तथ्यांकका आधारमा ऊर्जा व्यवस्थापनका लागि आवश्यक सुधारका सम्बन्धमा सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराउँदै ऊर्जाको वास्तविक अवस्थाबारे जानकारी गराउने र गुणस्तर सुधारका लागि पहल गर्ने स्पष्ट पारे।

कार्यक्रममा इन्टर डिसिप्लिनरी एनालिस्टका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले ठूला, मझौला, साना, कुटिर तथा परम्परागत सीपबाट सञ्चालित उद्योग/व्यवसायहरूमा सर्वेक्षण गरिएको जानकारी दिए। उनले सर्वेक्षणका क्रममा उद्योगले प्रयोग गर्ने इन्धन, लोडसेडिङ र ट्रिपिङको वास्तविक अवस्था तथा प्राप्त ऊर्जाको गुणस्तरलाई विशेष ध्यान दिइएको बताए। डा. शर्माले ऊर्जा दक्षता अभिवृद्धिका लागि गर्नुपर्ने सुधार र ऊर्जा खपत न्यूनीकरणका उपायहरूलाई केन्द्रमा राखी गरिएको यस सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारका योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिवेदन प्रस्तुतीकरणका क्रममा डा. शर्माले उद्योग व्यवसाय क्षेत्रको अवस्थालाई मनन गरी नीतिहरू तय गर्नुपर्ने, गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, र साना उद्योगहरूको संरक्षणका लागि ऊर्जामा सहुलियत प्रदान गर्नुपर्ने जस्ता महत्त्वपूर्ण सुझावहरू सर्वेक्षणबाट प्राप्त भएको जानकारी दिए।

ऊर्जा सर्वेक्षणको प्रतिवेदन प्रस्तुतीकरण र अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्षहरू विपिन कावरा र सुवोध कोइराला, कार्यसमिति सदस्य तथा ऊर्जा समितिका संयोजक सन्तोष भगत, जयेन्द्र शर्मा, बीरेन्द्र राठी, सौरभ सारडा, सिद्धार्थ कावरा, किरण ब्यास, पारस गोल्छा, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहका साथै विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक र व्यवस्थापकहरूको उल्लेख्य सहभागिता थियो।

49
Shares
६ श्रावण २०८२, मंगलवार १३:३७