रसुवाको ल्हेन्देखोलामा आएको बाढीपछि बीमा कम्पनीहरूमा हालसम्म २८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको क्षतिको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, बाढीबाट प्रभावित ६३ वटा बीमा दाबी देशभरिका विभिन्न बीमा कम्पनीहरूमा दर्ता भएका छन्। तीमध्ये शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै १६ करोड रुपैयाँभन्दा बढीको १० वटा दाबी दर्ता भएको छ।

अन्य कम्पनीहरूमा पनि उल्लेख्य क्षति दाबी गरिएको छ। नेको इन्स्योरेन्समा पाँच करोड २० लाख बराबरको तीन दाबी, सगरमाथा लुम्बिनीमा तीन करोड ४१ लाख बराबरको सात, नेपाल इन्स्योरेन्समा एक करोड २८ लाख बराबरको १२ दाबी परेको प्राधिकरणले जनाएको छ। त्यसैगरी, सानिमा जीआईसी, आइजीआई प्रूडेन्सियल, युनाइटेड अजोड, एनएलजी र सिद्धार्थ प्रिमियरमा पनि लाखौं रुपैयाँ बराबरका दाबी दर्ता भएका छन्।

बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल, निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय तथा पार्किङ क्षेत्रका सवारीसाधन बगाएको थियो। साथै, रसुवागढी जलविद्युत् आयोजना र आसपासका भौतिक संरचनाहरूमा पनि गम्भीर क्षति पुगेको छ। प्रारम्भिक बीमा दाबी अझै बढ्न सक्ने अनुमान गरिएको छ।

21
Shares
५ श्रावण २०८२, सोमबार १०:४८