विराटनगर । आर्थिक वर्ष २०८२/८३ को सात वटै प्रदेशले बजेट पारित गरेर कार्यान्वयनमा लागेका छन् । सातवटै प्रदेशले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार भन्दै नारा र आकर्षक कार्यक्रम सहितको बजेट ल्याएका छन् ।

कोशीको ‘पर्यटन वर्ष’को नारादेखि ‘कर्णाली नेपालीको गन्तव्य’ बन्ने महत्त्वाकाङ्क्षी योजनाहरू प्रदेशले ल्याएको देखिन्छ ।

प्रदेशका बजेटहरूमा पर्यटन पूर्वाधार निर्माण, धार्मिक–सांस्कृतिक गन्तव्यको विकास र प्रचारप्रसारमा बढी केन्द्रित देखिएको छ ।

सबै प्रदेशको बजेटमा पर्यटकीय पूर्वाधार निर्माण नै प्राथमिकतामा रहेका छन् । सुदूरपश्चिम प्रदेशले ‘पर्यटन पूर्वाधार समृद्धिको आधार’ भन्ने नारा नै ल्याएको छ ।

यस्तै गण्डकी, कर्णाली, बागमती र कोशी प्रदेशले पनि प्रमुख पर्यटकीय स्थलसम्म पुग्ने पहुँचमार्ग, पदमार्ग, र अन्य पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।

यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन पनि प्रदेशहरूको साझा एजेन्डा रहेको छ । मधेस प्रदेशले जनकपुरधामलाई धार्मिक केन्द्र बनाउने लक्ष्य राखेको छ भने लुम्बिनी प्रदेशले बुद्ध जन्मस्थल वरपरका क्षेत्रको विकासमा बजेट केन्द्रित गरेको छ ।

त्यसैगरी, ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न होमस्टे कार्यक्रमलाई लगभग सबै प्रदेशले प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशको ‘गण्डकको खास, बसौँ घरबास’ अभियान नै रहेको छ । आ–आफ्नो प्रदेशलाई पर्यटकीय हबका रूपमा ब्रान्डिङ गर्न खोजेको बजेटमा उल्लेख छ ।

कोशी प्रदेश ‘पर्यटन वर्ष’

कोशी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ लाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नाराका साथ यो अभियान सञ्चालन बजेट विनियोजन गरेको देखिन्छ ।

प्रदेशले बराहक्षेत्र, हलेसी, पाथीभराजस्ता धार्मिक गन्तव्यदेखि महागुरु फाल्गुनन्दको जन्मस्थल र खुवालुङसम्मका क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न बजेट छुट्याएको छ । कोशीले फाल्गुनन्द र मुन्धुम जस्ता पदमार्ग विकासका बजेट छुट्याएको छ ।

28
Shares
४ श्रावण २०८२, आईतवार १०:०२