सिरियाको दक्षिणी सहर सुवेइदामा एक सातादेखि जारी साम्प्रदायिक हिंसालाई रोक्न राष्ट्रपति कार्यालयले ‘तत्काल युद्धविराम’ को घोषणा गरेको छ । स्थानीय जनजाति बेदुइन र ड्रुज समुदायबीच गत आइतबारदेखि भड्किएको हिंसामा ९ सय ४० जनाको ज्यान गइसकेको यूकेस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले जनाएको छ । दुई समुदायबीच सडकमा गोली हानाहान भएका छन् भने सडकमा लासहरू छरिएको अवस्थामा देखिएका छन् ।

‘यो क्षणमा एकताको आवश्यकता छ र हामीले सामना गरिरहेको संकटलाई पार गर्न पूर्ण सहकार्य आवश्यक छ,’ सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले भनेका छन् । यद्यपि, युद्धविराम कायम रहन्छ कि रहँदैन भन्नेमा ढुक्क हुने अवस्था भने छैन । किनभने शनिबार नै पनि हिंसा नरोकिएको अपुष्ट खबर प्राप्त भएका छन् । युद्धविरामको घोषणा इजरायलले ड्रुज समुदायका लागि सहयोग अघि बढाएपछि आएको हो, जुन बेला सिरियाली आन्तरिक सुरक्षा बलहरू सुवेइदामा तैनाथ थिए । सुवेइदाको ड्रुज समुदायले सिया इस्लाममा विश्वास गर्छ भने उनीहरूले दमास्कसको वर्तमान सरकारमाथि अविश्वास गर्छन् । सिरिया, इजरायल र लेबनानमा ड्रुज अल्पसंख्यक समुदाय छन् ।

इजरायलले यसै साताको सुरुमा हस्तक्षेप गर्दै सरकार समर्थित सेना र दमास्कसस्थित रक्षा मन्त्रालय भवनमाथि आक्रमण गरेको थियो र ड्रुज समुदायको समर्थनको घोषणा गरेको थियो । शनिबार इजरायलका विदेशमन्त्री गिदोन सारले सिरियामा अल्पसंख्यकहरूको सुरक्षाका लागि शाराले गरेको नयाँ प्रतिबद्धतामाथि शंका व्यक्त गरेका छन् । ‘सिरियामा अल्पसंख्यक हुनु निकै खतरनाक छ, र यो विगत ६ महिनादेखि बारम्बार प्रमाणित हुँदै आएको छ,’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय सिरियामा अल्पसंख्यकहरूको सुरक्षा र अधिकार सुनिश्चित होस् भन्ने चाहन्छ ।’

सिरियाका लागि वासिङ्टनका विशेष दूत टम ब्यारकले शुक्रबार सिरिया र इजरायलले युद्धविराममा सहमति जनाएको घोषणा गरेका थिए । बेराकले शनिबार बिहानै पनि यसबारे जानकारी दिँदै भनेका छन्, ‘सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शारा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।’

उनले यो युद्धविरामलाई तुर्किए र जोर्डन जस्ता छिमेकी देशहरूले पनि समर्थन गरेको बताएका थिए । सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान पनि गरेका छन् । ‘हामी ड्रुज, बेदुइन र सुन्नीहरूलाई हतियार त्याग्न र अन्य अल्पसंख्यकहरूसँग मिलेर शान्ति र समृद्धिमा नयाँ सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्छौं,’ ब्यारकले भने ।

बीबीसीकी मध्यपूर्व संवाददाता लिना सिनजाबले सिरियाबाट रिपोर्टिङ गर्दै ड्रुज समुदायमाथिको हिंसा देशभर फैलिरहेको बताइन् । समुदायबीचको झडपलाई नियन्त्रणमा लिन अन्तरिम राष्ट्रपति शारा अक्षम भएको गम्भीर प्रश्न पनि उठेको छ । यसै साताको सुरुमा, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर तुर्कले आफ्नो कार्यालयले सुवेइदामा भएको झडपमा व्यापक मानव अधिकार उल्लंघन र दुरुपयोगका विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको बताए, जसमा मृत्युदण्ड र मनोमानी हत्याहरू समावेश छन् । यस्ता घटनाका दोषीहरूमा सुरक्षा बलका सदस्यहरू, अन्तरिम सरकारसँग सम्बद्ध व्यक्ति र स्थानीय ड्रुज र बेदुइन सशस्त्र समूहहरू रहेको तुर्कले बताए । उनले चेतावनी दिँदै भने, ‘यो रक्तपात र हिंसा रोक्नुपर्छ, सबैलाई जवाफदेही बनाउनुपर्छ ।’

त्यसैगरी, हालसम्म शान्ति सम्झौताबारे कुनै टिप्पणी नगरेको

Set featured image

इजरायलले गत बुधबार सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेर राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो । यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुज समुदायको बाहुल्य रहेको स्वेइदा सहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भंग भएको आरोप लगाएको छ ।

शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । यसैबीच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री (खाद्य र औषधि) पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो ।

21
Shares
४ श्रावण २०८२, आईतवार ०६:४३