सुरुमा मुटु रोग उपचार केन्द्र बनाउने घोषणा गरिए पनि यस केन्द्रमा कहिल्यै आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराइएन। ‘मुटु रोगको निःशुल्क उपचार’ भन्ने नारामा मात्र सीमित रहँदा बिरामीहरूको प्रारम्भिक परीक्षण गरी अन्यत्र रेफर गर्नेबाहेक मुटु उपचारमा खास प्रगति हुन सकेको थिएन। अब भने कोशी प्रदेश सरकारले अस्पतालको स्वरूप विस्तार गर्दै जनरल सेवा सुरु गरेको हो।
कोशी स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार केन्द्रलाई बहुपक्षीय सेवा दिने अस्पतालका रूपमा विस्तार गर्ने योजना अन्तर्गत यो कदम चालिएको हो। “अहिले केन्द्रबाट स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा र जनरल ओपिडी सेवा सञ्चालनमा छन्,” उनले भनिन्, “यसका लागि चिकित्सकहरू खटिसकेका छन्, र सेवाग्राहीहरू पनि आउन थालेका छन्।”स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षमा अस्पताल विस्तारका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। साउन १ गतेदेखि अस्पतालमा लेखा प्रमुख र प्रशासन प्रमुख पदस्थापन भइसकेको छ भने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पनि नियुक्त हुनेछन्।
हाल जनरल सेवाका लागि छात्रवृत्तिमा रहेका चिकित्सकले सेवा दिइरहेका छन् भने फिजिसियनमा आठौँ तहका स्थायी डाक्टर खटिएका छन्। सचिव थपलियाका अनुसार हाललाई सबै सेवा निःशुल्क छन्, र छिट्टै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा मन्त्रालय जुटेको छ।स्वास्थ्य बीमा बोर्डसँग छलफल भइसकेको र प्रणाली मिलाउँदै लगिएको उनले बताइन्। अस्पतालको नजिकै रहेको प्रदेश स्वास्थ्य प्रयोगशालामा बिरामीहरूले आवश्यक परीक्षण गर्ने व्यवस्थासमेत मिलाइने सचिव थपलियाले जानकारी दिइन्। अस्पतालमा अहिले ४२ जनाको दरबन्दी स्वीकृत छ, तर कतिपय पद अझै रिक्त नै छन्। लेखा व्यवस्थापनका लागि अन्य अस्पतालबाट कर्मचारी ल्याएर सञ्चालन भइरहेको मन्त्रालयले जानकारी दियो।