विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल २९ अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वार्षिक आय विवरण अनुसार, प्रदेशको आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा निर्भर रहेको देखिएको छ।

आम्दानीका मुख्य स्रोतहरू

१. संघीय अनुदान: प्रदेशको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान संघीय सरकारबाट प्राप्त हुने अनुदानको रहेको छ। यस अन्तर्गत:
  • समानीकरण अनुदान: ८ अर्ब २० करोड ६२ लाख रुपैयाँ (कुल आम्दानीको करिब २८ प्रतिशत)
  • सशर्त अनुदान (चालु): १ अर्ब ९४ करोड ८५ लाख रुपैयाँ
  • सशर्त अनुदान (पुँजीगत): १ अर्ब ८२ करोड ८० लाख रुपैयाँ
  • समपुरक अनुदान (पुँजीगत): ६५ करोड ५० लाख रुपैयाँ
  • विशेष अनुदान (चालु र पुँजीगत): १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ

यी सबै अनुदान जोड्दा प्रदेशको कुल आम्दानीमा संघीय अनुदानको हिस्सा करिब ४५ प्रतिशतभन्दा बढी हुन आउँछ।

२. राजस्व बाँडफाँड: राजस्व बाँडफाँड अन्तर्गत प्रदेशको आम्दानीका प्रमुख स्रोतहरू:
  • मूल्य अभिवृद्धि कर (भ्याट): ७ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ (दोस्रो ठूलो आम्दानीको स्रोत)
  • अन्तःशुल्क बाँडफाँड: २ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ (तेस्रो ठूलो स्रोत)

३. आन्तरिक राजस्व: प्रदेशले आन्तरिक राजस्वतर्फ पनि उल्लेख्य आम्दानी गरेको छ:

  • सवारी साधन कर: १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ
  • घरजग्गा रजिष्ट्रेसन दस्तुर: १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ
  • चालक अनुमति पत्र तथा सवारी दर्ता किताब (ब्लु बुक): ५९ करोड ६९ लाख रुपैयाँ
  • अन्य प्रशासनिक सेवा शुल्क: ८० करोड ९५ लाख रुपैयाँ

प्रदेशले आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै करिब २ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

7
Shares
१ श्रावण २०८२, बिहीबार १६:०२