इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन्। घिसिङले आफ्नो नयाँ अभियानको मुख्य उद्देश्य देशमा आशा जगाउनु र आत्मविश्वास बढाउनु रहेको बताए।
उनले भने, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’उनका अनुसार, यो अभियानले देशमा राम्रो काम गर्न चाहनेहरूका लागि एउटा बलियो शक्ति निर्माण गर्नेछ र असल नेतृत्व जन्माउन दबाब सिर्जना गर्नेछ। यदि स्थापित राजनीतिक दलहरूले असल नेतृत्व दिन नसके यही अभियानभित्रबाट नयाँ नेतृत्व जन्माउन सकिनेतर्फ समेत उनले संकेत गरे।
घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको साटो अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हाबी भएकोमा कडा आलोचना गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो।’