विराटनगर । मोरङमा हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ६ वर्षपछि ललितपुरबाट पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दोर्जे भनिने मेन दोर्जे तामाङ पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मंगलबार पक्राउ गरेको हो । ललितपुर प्रहरीले पक्राउ गरेर उनलाई बुधबार मोरङ पठाएको छ । प्रहरीको टोलीले मोरङ ल्याउने वित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ । तामाङविरुद्ध प्रहरीले २०७६ सालमा कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

उनी फरार रहेका कारण मुद्दा भने मुलतबीमा राखिएको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले मुतलबी जगाएर थप प्रक्रिया अघि बढाएको छ । २०७६ साल चैत ९ गते मोरङको पथरीशनिश्चरेका दीपक लिम्बूको हत्या भएको थियो ।

लिम्बूको हत्यापछि भागिरहेका तामाङ ६ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । विशेष सुराकीका आधारमा ललितपुरस्थित दिदी अनु तामाङको घरमा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई प्रहरी प्रभाग भैँसेपाटीबाट खटिएको इन्स्पेक्टर शशिधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

35
Shares
३२ असार २०८२, बुधबार १७:४०