विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् ।

पहिले सभापति शेरबहादुर देउवासँग निकट रहँदै आएका उनी कोइराला निवास आउनुलाई चासोपूर्वक हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरेका छन् ।

त्यस क्रममा उनले गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरु भने उत्साहित बनेका छन् । कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजा बसेको यो घर डा. शेखर कोइरालाको भागमा परेको छ । कोइरालाले कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन् ।

सभापति देउवासँग टाढिएका खाँणले कोइराला निवकास पुगेर आफू डाक्टर शेखर कोइरालाको क्याम्पमा आएको संकेत गरे । नले पत्रकारहरुसँग कोइराला निवास गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको दाबी गरे । पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको प्रश्नमा नेता खाँणले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे ।

खाँणले पार्टी भित्रको अनुशासनको कारवाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए । ‘कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुदैन’, उनले भने, ‘कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्तामात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।’
28
Shares
३२ असार २०८२, बुधबार १४:०४