काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले श्रीलंकामाथि सानदार जित निकालेको छ । श्रीलंकामाथि हाबी हुने क्रममा मंगलबार नेपालले ७–० गोल अन्तरको फराकिलो जित निकालेको हो । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिनाको अभ्यास मैदानमा निर्धारित समयभन्दा डेढ घण्टा ढिला खेल सुरु भएको थियो ।

उक्त प्रतिस्पर्धाको पहिलो हाफमा नेपाल ५–० गोल अन्तरले अघि बढ्यो । थप २ गोल मध्यान्तरपछि सम्भव भयो । श्रीलंका भने गोलविहीन हुन पुग्यो । नेपालका लागि मीना देउवाले ह्याट्रिक पूरा गरिन् । उनले ८ औं, ४२ औं र ७० औं मिनेटमा गोल गरेकी थिइन् । पूर्णिमा राईले २ गोल गर्दा समीक्षा मगर र सरिताकुमारी नाथले समान १–१ गोल गर्न सके ।

खेलको ८ औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३ औं मिनेटमा समीक्षा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ४२ औं मिनेटमा मीना देउवाले व्यक्तिगत दोस्रो गर्दा नेपाल ३–० ले अघि बढ्यो ।

पहिलो हाफको थप गरिएको तेस्रो मिनेटमा नेपालका लागि पूर्णिमा राईले चौथो गोल गरिन् । त्यसको १ मिनेटपश्चात नेपालका लागि पुनः पूर्णिमाले नै व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौं गोल गरिन् । ७० औं मिनेटमा मिनाले ह्याट्रिक पूरा गर्दा नेपाल ६–० को फराकिलो अन्तरले अघि बढ्यो ।

थप गरिएको पहिलो मिनेटमा नेपालको डिफेन्डर सरिता कुमारी नाथले फ्री कीकमार्फत गोल गरिन् । जुन गोलले नेपाललाई फराकिलो जित निश्चित गरायो । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३–२ ले पराजित भयो ।

7
Shares
३२ असार २०८२, बुधबार ०६:५०