काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न प्रदेशमा हल्कादेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने उल्लेख गरेको छ ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ । मधेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । दक्षिणी तराई क्षेत्रका धेरै भू–भागमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ ।

यसैबीच, खडेरीले आक्रान्त रहेको मधेश प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ । सोमबार रातिदेखि नै बादल मधेश प्रदेशका आकाशमा गड्गडाउन सुरु गरिसकेको थियो । मधेशमा यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका अधिकांश भू–भागमा वर्षा हुन सकिरहेको छैन ।

वर्षा नहुँदा किसान बिउबिजन र श्रमसहित खाद्य असुरक्षा बढ्ने भय थियो । अब मधेशमा लगातार जसो नै वर्षा गराउने प्रणाली विकसित हुँदै गएको मौसमविद्हरु बताउँछन् ।

21
Shares
३२ असार २०८२, बुधबार ०६:४८