विराटनगर । युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले पीएसजीलाई ३– ० ले पराजित गर्दै उपाधि जितेको हो । चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल गरे ।

खेलको २२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३– ० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल नभएपछि चेल्सी उपाधि जित्न सफल भयो ।

फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए । विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक प्राप्त गरे । यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो । यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो ।
21
Shares
३० असार २०८२, सोमबार ०८:४५