मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले वर्षका उत्कृष्ट १२ दम्पतीलाई आइतबार सम्मान गरेको छ । नगरपालिकाले सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीको खोजी गरेको थियो । आवेदन दिएका ४८ जोडीमध्ये नगरको मापदण्डअनुसार प्रत्येक वडाबाट १–१ गरेर १२ जोडीलाई उत्कृष्ट दम्पती घोषणाा गरेर सम्मान गरिएको हो ।

उनीहरुलाई नगद १०–१० हजार रूपैयाँस्हित सम्मानित गरिएको छ । सम्मानित हुने दम्पतीहरूमा सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल र ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल दम्पती छन् ।

त्यस्तै, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरी, ८ बाट खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, ९ बाट योगराज कार्की र हिमकुमारी कार्की, १० बाट बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, ११ बाट वेदकुमार खवास र केसवती खवास तथा १२ बाट अम्बरबहादुर मगर र ताराकुमारी मगर दम्पतीलाई सम्मान गरएको छ । उत्कृष्ट जोडीलाई नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सम्मान गरेका हुन् ।

न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ नीति कार्यक्रममा उत्कृष्ट ढुकुर जोडी (दम्पती) घोषणाको नीति लिइएको बताए । न्यायिक समितिमा पति–पत्नीबीच भएको झगडासँग सम्बन्धित उजुरीहरु बढी पर्न थालेपछि उत्कृष्ट जोडी सम्मान कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।

नगर प्रमुख गुरागाईंले समाजमा राम्रो गर्नेलाई सम्मान गर्नुपर्ने बताए । । समाजलाई मर्यादित बनाउन व्यक्ति पनि मर्यादित हुनुपर्ने उनको भनाइ छ । सम्मानित जोडी सामाजिक पुँजी भएको र रोलमोडलका रूपमा स्थापित गरिने प्रमुख गुरागाईंको भनाइ छ । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक अकली चौधरीले उत्कृष्ट दम्पतीको फोटो १ बर्षसम्म वडा कार्यालयमा राखिने जानकारी दिइन् । उत्कृष्ट जोडीको स्वास्थ्य बिमा निःशुल्क गरिने उनले बताइन् ।

21
Shares
२९ असार २०८२, आईतवार १४:०५