विराटनगर । सुनसरीको इनरुवामा आइतबार बिहान आफ्नै घरभित्र पति–पत्नी मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ४० वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी ३२ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार बाँसको टाटीबेरा भएको १ तले कच्ची घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा पति मृत फेला परेका छन् । पत्नी भने घरको सुत्ने कोठाको ओछ्यानमा मृत फेला परेकी छन् । स्थानीयले घरभित्र दम्पतीलाई मृत फेला पारेपछि आइतबार बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ डीएसपी योगराज खतिवडा नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरेको थियो ।

एसपी तिम्सिनाका अनुसार सुवेताको माइती मोरङको कदमाह हो । ‘माइती पक्ष र आफन्तलाई घटनाको जानकारी गराइसकिएको छ । उनीहरु आइपुगेपछि थप कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

घटना कसरी भयो भनेर यकिन हुन बाँकी रहेको तिम्सिनाको भनाइ छ ।
42
Shares
२९ असार २०८२, आईतवार १४:०२