घरजग्गा क्षेत्रमा आएको मन्दीका कारण धेरै व्यवसायी, बैंक, वित्तीय संस्था तथा सहकारीलाई अप्ठेरो परिस्थिति बनेको छ । यही कारण अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा समेत बढेको छ । यस्तो मन्दीबीच नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही सहजीकरण गर्न खोजेको छ ।
मौद्रिक नीतिले घरजग्गामा केही लचिलो व्यवस्था गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पुर्याइएको छ । यसले राम्रा र आधुनिक घर किन्न चाहनेले बैंकबाट बढी कर्जा लिन पाउँछन् । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो ।त्यस्तै अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । यसअघि घरजग्गा खरिदमा कुल मूल्यको ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था थियो ।
बैंकबाट लिन पाउने कर्जा सीमा बढाएर चलायमान गराउन खोज्ने नीति राष्ट्र बैंकले लिएको छ । ब्याजदर पनि न्यून रहेकाले राष्ट्र बैंकले ऋण सीमा बढाएको छ । तर, ऋण सीमा बढाउँदैमा कर्जा प्रवाह नबढ्ने विज्ञ बताउँछन् ।