राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)ले २०७६/७७ मा कम्प्युटर सिस्टम किन्ने नाममा ठूलो घोटाला गरेको खुलेको छ। अख्तियारले अनुसन्धान गर्दा झन्डै १५ करोडभन्दा बढीको भ्रष्टाचार भएको देखिएको छ। यसैका लागि केन्द्रका तत्कालीन प्रमुख सुनिल पौडेलसहित पाँचजना सरकारी कर्मचारी र एक ठेकेदारमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
३० करोडको सम्झौता गरेर ल्याइएका कम्प्युटर उपकरणमा सम्झौतामा लेखिएकोभन्दा कमजोर प्रोसेसर जडान गरिएको रहेछ। जसको कारण कम्प्युटरको क्षमता करिब १४ प्रतिशतले घटेको छ, तर पैसा भने पुरै तिरिएको छ।
अख्तियारका अनुसार यो खरिद प्रक्रिया पूर्व योजना र मिलेमतोमा गरिएको थियो, जसमा पारदर्शिता देखिएन। अब सबै दोषीलाई जेल सजाय र बिगो असुल गर्न माग गरिएको छ। ठेकेदारलाई त मुख्य दोषी मानेर कडा कारबाही माग गरिएको छ।