विराटनगर, असार २६
“सामाजिक सेवामा कर्मशील सोच र दीर्घकालीन दृष्टिकोणको संयोजन आवश्यक छ,” – यो भनाइ हो सोनिया गुप्ता चौधरीको, जो अहिले रोटरी क्लब अफ विराटनगर फ्युजनको नयाँ अध्यक्षको रूपमा पदभार सम्हाल्दैछिन्।

वीरगञ्जकी स्थायी बासिन्दा र हाल विराटनगरमा सक्रिय सामाजिक अभियन्ता चौधरीले क्लबको नेतृत्व लिँदै २०२५/२६ को कार्यकाललाई सामाजिक र वातावरणीय उत्तरदायित्वसहितको अभियानमा रूपान्तरण गर्ने स्पष्ट लक्ष्य राखेकी छन्।

“५ हजार बिरुवा, सशक्त शिक्षा र सफा समाज — मेरो प्रतिबद्धता हो”
उनको कार्यकालको प्रमुख प्राथमिकतामा ५ हजार बिरुवा रोप्ने अभियान, विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, खानेपानी स्टेसनको स्थापनाजस्ता योजना छन्। साथै, सरसफाइ, महिला स्वास्थ्य, कानुनी चेतना र वातावरण संरक्षणमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरिने उनले बताइन्।

कार्यको थालनीमै प्रेरणादायी कदम
पदस्थापन समारोहको पहिलो दिन उनले ‘आमाको माया छात्रावास’ की एक छात्रालाई वार्षिक छात्रवृत्ति प्रदान गरिन् भने कुकुर उद्धारमा समर्पित संस्था ‘एलिना एनीमल प्रिजर्भेसन नेपाल’ लाई उनीहरूको अभियानमा साथ दिन सहयोग हस्तान्तरण गरिन्।

सोनियाको पृष्ठभूमि, दृढ इच्छाशक्ति
हरि खेतान क्याम्पसबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी र हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून (LLB) अध्ययन गरिरहेकी चौधरीले सामाजिक कार्यमा कानुनी चेतना र नीतिगत सोचको संयोजन गर्दै काम गर्ने बताइन्।

उनले भनिन्, “रोटरी क्लब केवल सेवाको संस्था होइन, यो समाज परिवर्तनको मञ्च हो। हामीले शिक्षित, सुरक्षित र हरित भविष्यका लागि आजैबाट कदम चाल्नुपर्छ।”

पूर्वअध्यक्षको प्रतिबिम्ब, वर्तमानको प्रेरणा
पूर्वअध्यक्ष विवेक अग्रवालले आफ्नो कार्यकालमा सम्पन्न साइकलथन, रक्तदान, शौचालय निर्माण, पानी स्टेसन स्थापनालगायत कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरे।

रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर बिनोद कोइराला, असिस्टेन्ट गभर्नर प्रिया सारडा, वरिष्ठ रोटेरियन बेणी गोपाल मुन्धरा, बिनोद अग्रवालसहित समारोहमा क्लबका सदस्य, संघसंस्था प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

सकारात्मक ऊर्जा र स्पष्ट योजनासहित अघि बढ्दै सोनिया
सोनिया गुप्ताको नेतृत्वले क्लबलाई एक नयाँ सोच, आधुनिक कार्यशैली र परिणाममुखी अभियानतर्फ लैजाने अपेक्षा गरिएको छ। सामाजिक परिवर्तनको यो यात्रा अब नयाँ गतीमा प्रवेश गरेको छ – नेतृत्वमा छन् एक युवाशक्ति, जसको दृष्टिकोण नाफा होइन, असर हो।

98
Shares
२७ असार २०८२, शुक्रबार १७:२५