भारतमा तीव्र रूपमा फैलिएको कोरोना सङ्क्रमण नेपालमा पनि फैलिन थालेपछि कोशी प्रदेशमा विशेष सतर्कता अपनाइएको छ। मोरङको विराटनगर महानगरपालिकामा चार जनामा संक्रमण देखिएपछि बुधवारदेखि खोप अभियान सुरु गरिएको हो। महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार कमजोर स्वास्थ्य भएका तथा उच्च जोखिम समूहका नागरिकलाई लक्षित गर्दै १९ वटै वडामा खोप उपलब्ध गराइएको छ। परीक्षणपछि पनि खोप लगाउन सकिने व्यवस्था गरिएको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार महिनामा मात्रै मोरङ र इलामका दुई महिलाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने पछिल्लो केही दिनमा २१ जनामा संक्रमण पुष्टि भएको छ। यसै सन्दर्भमा मन्त्रालयले होम आइसोलेसनको व्यवस्था, नियमित परीक्षण, र खोप अभियानलाई निरन्तरता दिन निर्देशन दिएको छ। प्रवक्ता डा. सभ्यता पन्थीले अहिले आत्तिनुपर्ने अवस्था नरहे पनि लक्षित वर्गले खोप अनिवार्य रूपमा लगाउनुपर्ने आवश्यकता औँल्याइन्।

जनस्वास्थ्यका विज्ञहरूले खोप अझै पनि आवश्यक रहेको बताउँदै रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप महत्त्वपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार हर्ड इम्युनिटी कायम गर्न खोप अभियानलाई निरन्तरता दिनुपर्छ। जनस्वास्थ्य अभियन्ता कैलाश खाकी श्रेष्ठले राज्य र नागरिक दुवै पक्षबाट सतर्कता आवश्यक रहेको उल्लेख गर्दै, “पहिले पनि कोरोना निर्मूल भएको होइन, त्यसैले अबको उपाय सचेत रहनु हो,” भनेका छन्।

35
Shares
२७ असार २०८२, शुक्रबार १४:०१