विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ, जुन कुल बजेटको ७७ प्रतिशत हो।
प्रदेश सरकारले चालु वर्षका लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कुल विनियोजित बजेटमध्ये ७७.२६ प्रतिशत खर्च भइसकेको छ।
पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ (७९.२६%) खर्च भएको छ भने चालुतर्फ १२ अर्ब ४२ करोड रुपैयाँ (७५.२९%) खर्च गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ११ अर्ब १९ करोडको बजेटमध्ये ८ अर्ब ५० करोड खर्च गरेको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड खर्च गरेको छ, जुन विनियोजित ४ अर्ब ४२ करोडको करिब ९१ प्रतिशत हो।
स्थानीय तहका लागि छुट्याइएको ५ अर्ब ६ करोड बजेटमध्ये ४ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।