विराटनगर । न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुनको कार्यान्वयनको माग गर्दै विराटनगरमा बिहीबार श्रमिकहरूले दबाबमूलक र्याली निकालेका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, कोशी प्रदेशको आह्वानमा निकालिएको र्याली संसारीमाईस्थानबाट सुरु भएर महेन्द्र चौकमा कोणसभामा परिणत भएको हो।
कोणसभामा अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विनोद श्रेष्ठले श्रम ऐन कडाइका साथ कार्यान्वयन हुनुपर्ने माग राखे। र्यालीपछि सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई ५ बुँदे ज्ञापनपत्र बुझाइएको थियो।
नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले न्यूनतम पारिश्रमिक ३० हजार ४४३ रुपैयाँ कायम गर्नुपर्ने बताए। उनले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग गरे।
अन्य श्रमिक नेताहरूले पनि श्रम ऐन सुधार गर्न, न्यूनतम पारिश्रमिक निर्धारण गर्न र सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।
मन्त्री राईले श्रमिकको मागप्रति सरकार गम्भीर र प्रतिबद्ध रहेको प्रतिक्रिया दिए। कार्यक्रममा विराटनगर र आसपासका उद्योगहरूमा कार्यरत मजदुरहरूको ठूलो सहभागिता रहेको थियो।