काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नहुँदा असन्तुष्टि जनाउँदै दुवै दलका सांसदहरूले बैठकको सुरुमै विरोध जनाए।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोधमा उभिएका थिए। सभामुखले रास्वपाकी सांसद सोविता गौतमलाई बोल्ने अनुमति दिएपछि उनले, भिजिट भिसा प्रकरणमा बारम्बार आग्रह गरिए पनि सरकारले कुनै समिति नबनाएको भन्दै बैठक बहिष्कारको घोषणा गरिन्।

त्यसपछि राप्रपाकी सांसद अनिषा नेपालीले पनि गौतमको भनाइमा समर्थन जनाउँदै, माग अनुसार छानबिन समिति गठन नभएकाले बैठक बहिष्कार गर्ने जानकारी दिइन्। सरकारले यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन नगरेसम्म दुवै दलले संसदमा सहभागिता नराख्ने चेतावनी दिएका छन्।

14
Shares
२५ असार २०८२, बुधबार १४:४१