काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बुधबार विशेष सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जापानमा सम्पन्न तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक जितेका विजय सिँजालीलाई ६५ लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।
त्यसैगरी, इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमति विष्टसहितका खेलाडीलाई १ लाख ५० हजार रुपैयाँका दरले पुरस्कृत गरियो। यस्तै, श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा रजत पदक जितेका अर्जुन नेपालीसहितका खेलाडीलाई तीन लाख रुपैयाँका दरले सम्मान गरिएको छ।
प्रधानमन्त्री ओलीले मलेसियामा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटमा उपाधि जित्ने नेपाली टोलीलाई पनि बधाई दिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै भने, “सबैमा एकै पटक दक्षता र सफलता आउँदैन, क्रमिकरूपमा हासिल गरिन्छ। सरकार खेल क्षेत्रको व्यावसायिक विकासमा गम्भीर छ।”
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी वर्षका लागि बजेट झन्डै दोब्बर गरिएको जानकारी दिँदै कीर्तिपुर क्रिकेट मैदानको निर्माण पूरा हुन लागेको बताए। मन्त्री चौधरीका अनुसार यसले खेलकुद क्षेत्रमा नयाँ उत्साह सिर्जना गरेको छ।