आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो । जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएकाले हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान रहेको बताएको थियो ।
‘रासुवामा सोमबार आएको बाढीको खास कारण पहिचान गर्न अझै समय लाग्नेछ, तर प्रारम्भिक अनुसन्धानबाट उक्त बाढी अत्यधिक वर्षाका कारण आएको थिएन । मौसमी बादलको आवरण हटेपछि मात्रै उपग्रह चित्रमार्फत अध्ययन गरेर विस्तृत अनुसन्धान गर्न सकिनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘भूगर्भविद्, हिमनदी विशेषज्ञ, जलवायुविज्ञ लगायत सहभागी बहुक्षेत्रीय टोलीले बाढीको वास्तविक कारणको अनुसन्धान गर्नुपर्ने आवश्यकता छ ।’इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताए । हालसम्म यसको ठोस प्रमाण भने नरहेको उनको भनाइ छ । उनले भने, ‘इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार ३३ प्रतिशत र सङ्ख्या १६ प्रतिशतले बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रहरूमा पनि हिमतालहरूको सङ्ख्या बढेको देखिन्छ, तर हाल बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।’
चीनको माथिल्लो क्षेत्रमा हालसालै भारी वर्षा भएको सङ्केत नभएको भन्दै यसले अत्यधिक वर्षा बाढीको प्रमुख कारण नभएको पनि डङ्गोलले बताए । उनले भने, ‘पहाडी क्षेत्रमा जोखिम कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न झनझन कठिन हुँदै गइरहेको छ । भारी वर्षाले सधैँ बाढी ल्याउँछ भन्ने हुँदैन र कहिलेकाहीँ त्यो एक्लो कारण पनि हुँदैन । यसलाई ध्यानमा राखेर राहत, पुनर्निर्माण तथा पूर्वतयारी योजना बनाइनुपर्छ ।’इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले विश्वव्यापी रूपमा बढिरहेको तापमान वृद्धिका कारण प्राकृतिक विपद्को जोखिममा सबैभन्दा बढी पर्वतीय क्षेत्र रहेको बताए । ‘आज बिहानको रसुवा बाढीको कारण के हो भन्ने अझै यकिन छैन, तर हामीलाई पूर्ण विश्वास छ कि विश्वव्यापी तापमान वृद्धिले हिमाली क्षेत्रमा जोखिमपूर्ण घटनाहरूको आवृत्ति, तीव्रता र जटिलता बढाएको छ’, उनले भने ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम विभाग प्रमुख छ्याङ्गोङ झाङले हिमाली क्षेत्रमा प्राकृतिक प्रकोपको स्वरूप जटिल बनिरहेको र भारी वर्षा मात्रै सधैँ बाढीको कारण नबन्ने बताए। ‘पर्वतीय क्षेत्रका यस्ता बहुआयामिक विपद्का परिदृश्यलाई ध्यानमा राखी उद्धार, राहत तथा पुनर्निर्माण योजना बनाइनु आवश्यक छ’, उनले भने ।