मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने तर्क गरिन् । उनले ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गरिन् ।
‘गणतन्त्रको प्रतिकको रूपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायौं । हामीले मधेश, महिला, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायौं । जनताका छोराछोरीहरू राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ,’ उनले भनिन्, ‘उहाँहरू राजनीतिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ ।’उनले थपिन्, ‘जनसमुदायहरूले विभिन्न तर्क, वितर्कहरू गरिरहेका छन् । कतिपय समस्याहरू छन् । एउटा सम्मानित पदमा अभिभावकीय रूपमा रहिसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन ।’
सांसद बेलवासेले आइन्दा त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न माग गरिन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किइसकेका छन् ।