विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्न थालेको छ । महानगरपालिका क्षेत्रका ४ जनामा संक्रमण पुष्टि भएको छ । जसले संक्रमणको लहर पुनः सक्रिय हुने संकेत मिलेको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विराटनगर–२ का २, ९ र १६ का १–१ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले असार २५ र २६ गते अर्थात बुधबार र बिहीबार विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

दीर्घरोगी तथा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिने छ । उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई संक्रमणबाट जोगाउन खोप अनिवार्य देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले बताए । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताए ।

संक्रमण फैलिन नदिन महानगरले ज्वरो, खोकी, नाकबाट पानी बग्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिलो नगरी चिकित्सकको सम्पर्कमा पुग्न सबैमा आग्रह गरेको छ । ‘यस्ता लक्षणहरू कोरोना भाइरसको सुरुआती संकेत हुन्,’ डा. यादवले भने, ‘यस्तो अवस्थामा लापरबाही गर्नु सामूहिक जोखिम निम्त्याउने काम हो ।’

63
Shares
२४ असार २०८२, मंगलवार १५:२३